पाशुपत सिद्धमहायोग
पूर्वीय योग दर्शन हामीलाई सबै प्रकारका शारीरिक, मानसिक एवं आध्यात्मिक रोगहरुबाट मुक्त बनाएर दिव्य परमसत्ता (इश्वरतत्व) संग सिधा सम्बन्ध स्थापित गराउने क्रियात्मक मार्ग हो | त्यो परम सत्तामा नै ज्ञान र विज्ञानको पूर्णता पाइन्छ | हाम्रा ऋषिमुनिहरुले गहन सोध गरे पछि एउटा सिद्धान्तको प्रतिपादन गरेका छन् कि
यत् पिण्डे तत् ब्रम्हाण्डे
अर्थात – “जुन – जुन चिज ब्रह्माण्डमा विद्धमान छ, त्यो सबै चिज पिण्ड अर्थात् प्राणी शरीरमा पनि विद्धमान छ | जीवशरीरमा मुलाधार चक्रदेखि आज्ञाचक्र देखि सहस्रार चक्र सम्म ब्रह्माको जगत व्याप्त छ | वैदिक मनोविज्ञान (अध्यात्म विज्ञान) ले यही तथ्यलाई स्वीकारेर मुलाधारदेखि आज्ञाचक्रसम्मको जगतलाई अन्नमय कोश, प्राणमय कोश, र मनोमय कोशको संज्ञा जुन मानवतनमा पहिलेदेखि नै जागृत छ र यहाँ विद्यामाथि अविद्याको अधिपत्य छ | आज्ञा चक्र देखि सहस्रारसम्मको जगतलाई आनन्दमय कोश र विज्ञानमय कोश (सत् + चित् + आनन्द) को संज्ञा दिईएको छ | जुन मानव शरीरमा जागृत हुन वाँकी छ | यहाँ अविद्यामाथि विद्याको प्रभुत्व छ | उपर्युक्त पाँच कोशको पूर्ण विकाश भैसकेपछि मानवले दिव्य जीवन (Divine Life) लाई प्राप्त गर्दछ |
हाम्रा पूर्वज ऋषिहरुले मनुष्य शरीरलाई विराट स्वरुप प्रमाणित गरेर त्यसभित्र सम्पूर्ण सृष्टिलाई देखेका थिए | यस विराटस्वरुपका जन्मदाता परमात्माको स्थान सहस्रार चक्र हो भने परमात्माको परा शक्ति (कुण्डलिनी) को स्थान मूलधार हो | साधकको कुण्डलिनी जब जागृत र ऊर्ध्वगामि भएर सहस्रारमा लीन हुन्छ, त्यही अवस्थालाई नै मोक्ष भनिन्छ | जब महायोगी सिद्धबाबावाट प्राप्त कृपामय शक्तिपात -दिक्षाद्वारा सुषुप्त कुण्डलिनी जागृत हुन्छ, त्यतिखेर नै त्यो कुण्डलिनी शक्ति सुषुम्ना नाडीमार्फत उभो तिर जान वा संक्रमित हुन थाल्दछ र त्यसले १) मूलाधार २) स्वाधिष्ठान ३) मणिपुर ४) अनाहत ५) विशुद्ध , तथा ६) आज्ञाचक्र एवं १) ब्रह्मग्रन्थि २) विष्णुग्रन्थि र रुद्रग्रन्थि नामक आज्ञाचक्रका ३ ग्रन्थिहरुको भेदन गरी अन्तिममा समाधिको स्थिति अर्थात् समत्वबोधको स्थितिमा पुर्याउछ | यस प्रकार साधकले परमात्मा वा विश्वात्मा चैतन्यको साथमा एकत्व प्राप्त गर्दछ, जसद्वारा उसले शरीर, प्राण, मन एवं बुद्धिभन्दा पर रहेको आफ्नो आन्तरिक सत्ता तथा जीवनको वास्तविक सत्यलाई पहिचान गरी आफ्नो सृष्टिकर्तासँग तादात्म्य प्राप्त गर्दछ |