महायोगी सिद्धबाबा
पबित्र हिमवत खण्डमा अवस्थित, प्राच्य धर्म-दर्शनको अभ्युदयस्थल एवं अनुपम प्राकृतिक सुन्दरताले परिपूर्ण हाम्रो देश नेपालको पूर्वी पहाडी जिल्ला सगरमाथाको काखमा रहेको सोलुखुम्बु जिल्लाको एक सदाचारी ब्राह्मण परिवारमा महायोगी सिद्धबाबाले स्थूल शरीर ग्रहण गर्नु भएको हो |
जन्मजन्मान्तरका संग्रहीत पुण्य संस्कारहरुको प्रबल उदयका कारण उत्पन्न वैराग्यले बल्याबस्थामै गृह त्याग गरी आध्यात्म पथमा समर्पित हुनुभएका महायोगी सिद्धबाबा श्रीधाम अयोध्यास्थित श्रीमणिरामदासजीको छाउनीपीठबाट आदि बैदिक सनातन रामानान्दीय श्री सम्प्रदाय अन्तर्गतको बैश्नव सन्यास दीक्षामा दीक्षामा दीक्षित हुनुहुन्छ |
आफ्नो अभीष्ट प्राप्तिको दिशामा अनेकौ अकथनीय पीडा र संघर्षवाट रतिभर पनि बिचलित नभई वहाँले आफ्नो अध्ययनलाई निरन्तरता दिंदै भौतिक विज्ञान अन्तर्गतको वनस्पति-शास्त्रमा विद्यावारिधि गर्नुभयो र भौतिक साम्राज्यको सुख-सयल सामान्य रुपमै उपलब्ध हुने स्थितिमा पुग्नु भयो | तर यसले वहाँमा रहेको संस्कारगत तृष्णालाई पूर्ति गर्न सकेन / फलत: वहाँ आध्यात्म विज्ञानको अध्ययन, अन्वेषण र साधनामा समर्पित हुनुभयो |
भनिन्छ, ‘मृत्यु भन्दा पनि सन्यासपथ कठिन हुन्छ’ | तर पनि वहाले त्यही कठिन पथको शुरु गर्नु भयो र कहिले निराहार त कहिले दूधको आहारमा शरीरलाई भष्म लेपन र साधारण कौपिनले ढाकेर मौन ब्रतमा रही पैदल भ्रमणवाट अनेकौ गिरिकन्दरालाई छिचोल्दै जाडो याममा उत्तरकाशी, केदारनाथ, बद्रीनाथ, मानसरोवर, मुक्तिनाथ आदि क्षेत्रका गुफा/ओढारमा तपस्यारत हुनुभयो भने गर्मि याममा ऊष्ण प्रदेशमा झरेर पंचाग्निको सेवन गर्दै यान्त्रिक, मान्त्रिक साधनाका साथ हठयोग, मन्त्रयोग, लययोग, र राजयोगको समष्ठिगत स्वरुप सिद्धमहयोगको साधना गर्दै सिद्धि प्राप्त गर्नुभयो | जसको एक झलक प्राचीन चतराधाममा मिति २०६५ सालको रामनवमीका अवसरमा विनाअक्सिजन लिनु भएको नौदिने भू-समाधिवाट पनि प्रष्टिन्छ |
तपस्वी जीवनकै क्रममा आयुर्वेद र खगोल विज्ञानमा समेत श्रीस्वामीजीले विशिष्टता प्राप्त गर्नु भयो | यस प्रकार विलुप्तप्राय: भैसकेको महायोगको शिद्धिपश्चात लोकोपकारको साधु कर्तव्य र जन्मभूमिको स्नेहले वहाँ नेपाल फर्कनु भयो र प्राचीन हरिद्वार चतराधाममा जगदगुरु श्रीरामानान्दाचार्य सेवापीठको स्थापना गर्नु भयो